Latest Updates :

घरमै बसेर पैसा खर्चनै नगरि पर्सनल साइट कसरी बनाउने ? हेर्नुहोस यस्तो छ सजिलो तरिका...

SHARE THIS POST :
आजकल तपाइँले सुन्नु भएकै होला प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, रामशरण महत लगायतका धेरै नेताहरुमा पर्सनल साईट बनाउने लहर चलिरहेकोछ ।  नेताहरु मात्र कहाँ हो र ? माल्विका सुब्बा, झरना बज्राचार्य, निखिल उप्रेती, राजबल्लभ कोइराला  लगायतका केहि कलाकारहरुमा पनि यो लहर चलिसकेको छ । अब नेपाली गायक, संगितकारहरुको त के कुरा गर्नु? पर्सनल साइट नभएको कलाकार भेटाउन गार्है पर्ला । नबिन के भट्टराई, निमा रुम्बा, एड्रेन प्रधान लगायत धेरै गायकहरुले साइट बनाइसकेका छन् । नेपालका ठुला-ठुला व्यवसायीहरु पनि कम छैन पर्सनल साइट मार्फत आफ्नो र व्यवसायको प्रचार प्रसार गर्न, राजेन्द्र कुमार खेतान, बिनोद चौधरी लगायतका धेरै व्यवसायीहरु पनि लागि परिसकेका छन् । देशका प्रधानमन्त्री देखि लिएर निखिल उप्रेती सम्मले आफ्नो पर्सनल साइट बनाएको अवस्थामा हामीले पनि किन नबनाउने?

आफू सँग भएका घुमघाम, कार्यक्रमका फोटोहरु, भिडियोहरु र आफ्ना अनुभवहरु, मनमा उकुस मुकुस भएर बसेका भावनाहरुलाई आफ्ना दाजुभाई, साथीहरु बिचमा साटासाट गर्ने रहर कसलाई हुदैन र? यसका लागि कतिकालागि त फेसबुक नै पर्याप्त पनि होला तर कतिको चाहाना पनि होला की आफ्नै साइट भइदिए त ! यदि आफ्नै साइट बनाउने सोंच बनाउनु भएको छ भने चिन्ता नलिनुहोस्, तपाइँहरुको लागि  केहि साधारण स्टेपहरु छ  जुन पढीसकेपछि तपाइले केहि हद सम्म आइडिया पाउनुहुने छ ।

आजकल वेबसाइट बनाउनु ठूलो कुरा पनि होइन, तपाइले हेर्दै दिक्क लाग्दो HTML कोडहरु जान्नु पर्छ भन्ने पनि छैन, अलिकति समय र धैर्यता छ भने बाटा हरु धेरै छन् । अनलाइनमा नै धेरै टुलहरु उपलब्ध छन् र अन्य फ्रन्टपेज, ड्रिमवेभर लगायतका केहि ग्राफिक सफ्टवयरहरुबाट लटरपटर भए पनि एउटा पेज त बनाउन सकिहालिन्छ नि । तर त्यो पेज सबैले देख्न मिल्ने मिल्ने ठाउमा राख्न सक्नु पनि पर्यो नि होइन? एउटा पेज बनाइसकेपछी धेरैको जिज्ञासा थियो नाम कँहा दर्ता गर्ने हो? त्यो होस्टिंग भनेको के हो? कति पैसा लाग्ने हो? कसले उपलब्ध गराउछ? त्यहिँ त, साइट बनाउनु मात्र ठूलो कुरा त होइन रहेछ नि, धेरै कुराहरु बाकी नै रहेछ ! आज त्यहिँ एउटा साइट बनाउनका लागि लाग्ने शुरु देखि अन्तिम सम्मका केहि स्टेप हरुलाई स्पस्ट पार्दै छौं  ।

अब सिधा कुरा गरौ एउटा पर्सनल साइट बनाउन शुरु देखि के-के गर्नु पर्छ त । सर्वप्रथम तपाइँले एउटा कुरा स्पस्ट बुझ्नु आबश्यक छ की यो साइट बनाउने काम भनेको बच्चा जन्माउनु जस्तै-जस्तै नै हो । बच्चा जन्माउदैमा आफ्नो जिम्मेवारी पूरा हुदैन, यो त शुरुवात मात्र हो । जसरि एउटा बच्चाको लागि न्वारन गर्ने, परिवार-समाजसँग परिचित गराउने लगायतका उसलाई हुर्काउन बढाउन पालन-पोषण सम्बन्धि धेरै काम गर्नु पर्ने हुन्छ त्यसरी नै वेबसाइट पनि बनाएर मात्र पुग्दैन त्यसपछि धेरै काम गर्नु पर्ने हुन्छ । ति धेरै कामहरु मध्ये केहि साधारण र अति आवश्यक स्टेपहरुलाई म यँहा राख्दै छु :
www

१) नाम दर्ता गर्ने

वेबसाइट बनाउने स्टेपहरुमा तपाइको पहिलो काम नाम दर्ता गर्ने हुन्छ । नाम दर्ता गर्ने भनेपछि तपाइँले बुझी सक्नु भयो होला, google.com, yahoo.com, facebook.com जस्तै आफ्नो साइटको लागि एउटा नाम दिने । यी .com, .net, .org जस्ता नामहरुकोलागि तपाइँले बार्षिक पैसा तिर्नु पर्ने हुन्छ तर यदि तपाइँले अहिले पढिरहनु भएको मेरो साइट nirmal.com.np जस्तो नाम दर्ता गर्ने सोंच बनाउनु भएको छ भने बार्षिक पैसा तिर्नु पर्ने हुदैन । हाल सम्मको लागि मर्कन्टाइल कम्पनिले नि:शुल्क उपलब्ध गराउदै आएको छ । यसको लागि तपाइँले आफ्नो नागरिकताको फोटोकपी र एउटा “मेरो नाम दर्ता गरि पाउँ” भन्ने चिठी लिएर जानु भयो भने तिन दिन भित्र तपाइँको नाम दर्ता हुन्छ । र त्यसको लागि तपाईंले register.com.np मा गएर एउटा अनलाइन फर्म पनि भर्नु पर्ने हुन्छ । तर यो कुरा बुझ्नुहोला त्यहा गएर नाम दर्ता गर्दैमा तपाइँलाई वेबसाइट प्राप्त भने हुदैन, यस्ले तपाइको बन्न लागेको साइटको लागि एउटा नाम मात्र दिने हो । र व्यक्तिगत साइटको नाम चयन गर्नु पर्दा तपाइले आफ्नो नागरिकताको नाम वा थर सँग मिल्ने नाम छान्नु पर्ने हुन्छ, त्यसको लागि पहिले अरुले तपाइको नाम दर्ता गरिसकेको छ की छैन register.com.np मा गएर चेक गर्नु पर्ने हुन्छ । र सायद तपाइँलाई थाहा होला एउटै नाम दुइ जनाले लिन मिल्दैन, हरेकको फरक फरक नाम हुने गर्छ । र यदि तपाइले .com, .info, .me, .biz जस्ता नाम दर्ता गर्ने सोंच बनाउनु भएको छ भने कुनै डोमेन दर्ता गर्ने कम्पनि वा अनलाइन साइट बाट बार्षिक पैसा तिरेर गर्न सक्नुहुन्छ । यसको लागि कम्पनि अनुसार बार्षिक ६०० देखि १५०० रुपैया सम्म लिने गरिन्छ । र यी दुइमा फरक यति मात्र हो की एउटा लोकल समुदायमा केन्द्रित जस्तो देखिन्छ भने अर्को संसार भर, साधारण व्यक्तिगत प्रयोजनको लागि खासै फरक छैन । र अन्य धेरै कम्पनिहरुले नि:शुल्क डोमेन पनि उपलब्ध गराउछन जस्तै, .blogspot.com, .co.cc, .co.nr, .tk etc. अरु नामहरुको लागि तपाइँ आफै गूगल गर्न पनि सक्नुहुन्छ ।

तपाइँलाई एउटा अलमल हुन सक्छ, नाम दर्ता पहिले गर्ने की वेबसाइट बनाउने । जुन स्टेप पहिले गर्दा पनि फरक पर्दैन, तपाइँ पहिले वेबसाइट डिजाइन गरिसकेपछि पनि यो काम गर्न सक्नु हुन्छ । तर तपाइँले नाम दर्ता गर्नु भन्दा अघि सोंच पुर्याउनु पर्ने भने हुन्छ, सुहाउदो र सजिलो नाम राख्नु होला जुन आफुलाई भन्न र अरुलाई सम्झन सजिलो होस् ।

२) वेब होस्टिंग कम्पनि चयन गर्ने

तपाइँलाई लाग्न सक्छ नाम दर्ता गरे, साइट पनि बनाइसके अब यो होस्टिंग कम्पनि नभए हुदैन र? तपाइँले यदि मर्कन्टाइलमा डोमेन दर्ता गर्न जानु भयो भने उनीहरुले तपाइँलाई शुरुमै DNS माग्ने गर्छन । तपाइँलाई लाग्न सक्छ अब यो DNS भन्ने जन्तु कहाँ बाट ल्याउनु? यस्को लागि तपाइँले कुनै होस्टिंग कम्पनि सँग वेब स्पेस किन्नु पर्ने हुन्छ । अझै पनि तपाइँलाई लागिरहेको होला यो चाहिन्छ किन? DNS को काम भनेको तपाइको डोमेन नेमलाई IP Address मा बदल्ने हो । कम्प्युटरले तपाइँको डोमेनलाई चिन्दैन यसको लागि आईपी नै चाहिन्छ र हामीलाई लामो आइपी सम्झनु गाह्रो हुन्छ । त्यसैको लागि DNS को आबश्यकता पर्दछ । र अब कुरा आयो वेब स्पेस किन किन्नु पर्ने? तपाइँले बनाउनु भएको वेबसाइट लाई यस्तो ठाउँमा राख्नु पर्ने हुन्छ जुन विश्वको जुनसुकै कुना बाट खोल्दा पनि भेटियोस, जुन काम तपाइँको घरको ल्यापटप वा पिसीले गर्न सक्दैनन । त्यसकोलागी २४ घण्टा नै इन्टरनेट कनेक्सन भएको भरपर्दो र सुरक्षित स्थानमा राख्नु पर्ने हुन्छ, जसलाई वेब सर्भर भानिन्छ । त्यही वेब सर्वरको हार्ड डिस्कको एउटा कुनामा तपाइँको फाइल राख्नका लागि कम्पनिहरुले पैसा लिने गर्दछन । अब कति पैसा लाग्छ भन्ने कुरा तपाईलाई चाहिने स्पेस, सुबिधा र यसलाई उपलब्ध गराउने कम्पनिहरुमा निर्भर गर्दछ । जुन नेपाली बजारमा १००० देखि उपलब्ध हुन्छ । केहि नेपाली ठुला कम्पनिहरु मर्कन्टाइल, वोर्ल्ड लिंक, इ-नेटहरुको आफ्नै वेब सर्भर पनि छ, तर अन्य कम्पनीहरुले बिदेशी कम्पनीहरुको स्पेस लिएर यहाँ बेच्ने गर्दछन । तपाइँले पनि सिधै godaddy.com, networksoultions.com justhost.com, rackspace.com जस्ता चर्चित अनलाइन साइटहरुबाट किन्न सक्नुहुन्छ ।

३) वेब डिजाइन गर्ने

यो एउटा महत्वपूर्ण स्टेप हो, जसमा तपाइले आफ्नो सम्पूर्ण सुचनाहरुलाई तपाइँका दर्शकहरुले सजिलै हेर्न सक्ने गरि मिलाएर राख्नु पर्ने हुन्छ । जसमा तपाइँले केहि न केहि बिशेष कुरा दिनु पर्ने हुन्छ जस्ले गर्दा तपाइँका साथीभाइहरुलाई तपाइँको साइट हेर्न मन लागोस जस्तै फोटो ग्यालरी, भिडियो, फोरम, ब्लग, केहि बिशेष जानकारी, अनुभवहरु । अनि यी सबकुराहरुलाई राख्नका लागि एउटा आफ्नो साइटको आकर्षक लोगो, आफ्नो व्यक्तिगत पहिचान सुहाउने रंगहरुको कम्बिनेसन, सजिलो खालको न्याभिगेसन, र चिटिक्कको लेआउट बनाउनु सक्नुहुन्छ । तर यी सबैकुरा बनाउने कसरि त? यसको लागि तपाइँले माइक्रोसफ्टको फ्रन्ट पेज, एडोबीको ड्रिम वेभरको प्रयोग गर्न सक्नुहुन्छ वा अनलाइनमा उपलब्ध हुने नि:शुल्क डेभलपर टुल पनि प्रयोग गर्न सक्नुहुन्छ । र अरु टुलहरुमा तपाइँले गूगलको ब्लगरमा खाता खोलेर त्यसलाई पछि आफ्नो डोमेनमा जोड्न पनि सक्नुहुन्छ, जहा तपाइँलाई नि:शुल्क आकर्षक थिमहरु पनि उपलब्ध हुन्छन जस्ले तपाइँलाई साइट बनाउने झन्झटबाट मुक्ति पनि दिन सक्छ र यदि तपाइँसँग अली धेरै वेब सम्बन्धि ज्ञान छ भने वर्डप्रेस, जुम्ला, ड्रूपल जस्ता नि:शुल्क कन्टेन्ट म्यानेजमेन्ट सिस्टम पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यदि तपाइँ जूम्ला वा वर्डप्रेसमा साइट बनाउने सोंच बनाउनु भएको छ भने मैले तपाइँहरुकोलागि केहि मिनटमै इन्स्टल गरेर साइट तयार पार्न सकिने साधारण स्टेपहरुको बारेमा लेख लेखेको छु, यसको लागि यी पोस्टहरुमा क्लिक गर्नुहोला: वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस, “जूम्ला” – एक ओपन सोर्स वेब साइट सफ्टवेयर र यदि तपाइँ अन्य तरिकाहरु पनि सिक्न चाहानुहुन्छ भने मेरो यो पहिलेको पोस्टमा क्लिक गर्नुहोस्: कसरी सिक्ने वेब डिजाइनिंग?
४) प्रकाशित गर्ने

वेबसाइट तपाइँको कम्प्युटरमा तयार भइसकेपछिको अन्तिम काम भनेको अनलाइनमा सबैले हेर्न मिल्ने गरि राख्ने हो अथवा तपाइँले अघि दर्ता गर्नु भएको डोमेन नेम टाइप गर्दा भेटिने बनाउने हो । जसको लागि तपाइँले FTP को प्रयोग गर्नु पर्ने हुन्छ । जस्ले तपाइँको कम्पुटरमा भएका फाइलहरुलाई अनलाइनमा ट्रान्सफर गर्न सहयोग गर्दछ । जसको लागि तपाइँले अनलाइनमा नि:शुल्क उपलब्ध हुने FileZiella, Cute FTP सफ्टवेरहरु डाउनलोड गर्न सक्नुहुन्छ । ति सफ्ट्वेअर डाउनलोड गरिसकेपछि तपाइको होस्टिंग कम्पनिले दिएको प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर सर्वरको स्पेसमा कनेक्ट गर्न सक्नुहुन्छ, त्यसपछी तपाइले आफ्नो कम्प्युटरमा बनाएर राखेका फाइलहरु एक-एक गर्दै सर्भरमा हाल्न पाउनुहुन्छ । यति गरिसकेपछि ब्राउजरमा गएर तपाइँको डोमेन नेम टाइप गर्यो भने तपाइले बनाएको साइट अनलाइनमा खुल्नेछ ।

पक्कै पनि तपाइँले साइट बनाईसकेपछी आफ्नो साइट सर्च इन्जिनमा सर्च गर्दा माथि आओस भन्ने चाहानुहुन्छ होला । सर्च इन्जिन भनेको के हो र यस्ले कसरि काम गर्छ जान्न चाहानुहुन्छ भने यो लिंकमा क्लिक गर्नुहोस् : के हो सर्च इन्जिन अप्टिमाइजेसन?

यसरि तपाइँको साइट बनाएर लाइभ गर्ने काम सकिन्छ र त्यसै गरि पुन तपाइले आफ्नो साइटलाई लगातार अपडेट पनि गरिरहन सक्नुहुन्छ । नयाँ-नयाँ कुराहरु साइटमा राख्नाले तपाइँका दर्शकहरु तपाइँका कुराहरु हेर्न, पढ्नका लागि फर्की-फर्की तपाइँको साइट भिजिट गर्न आउने छन् । आशा छ यी स्टेपहरुबाट तपाइँले आफ्नो पर्सनल साइट बनाउनका लागि केहि मद्दत मिल्ने छ । र कतिलाई यी स्टेपहरु अलिकति अलमल लाग्ने खालका पनि होलान र काम गर्दै जाँदा धेरै समस्या पनि देखा पर्लान । यो एकै दिनमा सिकिने र गर्न सकिने कुरा पनि होइन, हामीले शुरुमा भने जस्तै अलीकति समय र धैर्यता छ भने पक्कै पनि बनाउन सक्नुहुने छ ।

विगत करिब एक दशक देखि सुचना प्रबिधि पेशामा आवद्द निर्मल ज्ञावली अहिले  सिड्नीको एउटा आइटी कम्पनीमा काम गर्दै छन्  उनले आफ्नै  निर्मल्स ब्लगमा लेखको सुचना र प्रबिधि सम्बन्धिको जानकारी हो यो  ।
न्युज 24 बाट साभार 
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger