Latest Updates :

ड्युटीमा वाक वाक गरेको भन्दै गर्भवती महिला ट्राफिकलाई हाकिमले पिटे.....हेर्नुहोस्

SHARE THIS POST :


 काठमाडौं । गर्भवती भएको पहिलो तीन महिना वाकवाकी लाग्नु र वान्ता आउनु महिलाहरुको प्राकृतिक समस्या हो । तर, थापाथलीको व्यस्त सडकमा  गर्दागर्दै वान्ता भएपछि आराम गर्न बस्दा आफूले हाकिमको पिटाइ खानुपरेको भन्दै एक ट्राफिक प्रहरीले हाकिमसमक्ष उजुरी गरेकी छन् ।

दुईमहिनाको गर्भ रहेकी ट्राफिक प्रहरी कुमारी थापाले ड्यूटीमा खटिएकै अवस्थामा आफ्नै हाकिमबाट कुटाइ खानुपरेको भन्दै डीआइजी कार्यालयमा गुनासो गरेकी हुन् । काठमाडौंको थापाथलीस्थित महिला ट्राफिक कार्यालयमा कार्यरत थापाले आफू ड्युटीमै रहेका बेला आफ्नै हाकिम प्रहरी निरीक्षक चञ्चला श्रेष्ठले मुक्का बर्साएको गुनासो माथ्लो तहसमक्ष पुर्‍याएकी छन् ।

ड्यूटीमा खटिँदा जिम्मेवारपूर्वक काम नगरेको भन्दै प्रनि श्रेष्ठले विहीबार दिउँसो थापाथलीस्थित ट्राफिक पोष्टमै कार्यरत ट्राफिक जवान थापालाई मुक्काले कम्मरमा प्रहार गरेको विषयले प्रहरीमा एकाएक चर्चा पाएको छ ।
हप्ता दिन अघिमात्रै स्वास्थ्य जाँच गर्न नेपाल प्रहरी अस्पताल पुगेकी कुमारीलाई चिकित्सकले पेटमा गर्भ भएकाले उभिएर ड्यूटी नगर्न सुझाव दिँदै कम्मरमा बेल्ट नबाँध्न भनेका थिए ।
प्रहरी अस्पतालको सिफारिसबमोजिम थापाले कार्यालयभित्रै काम मिलाइदिन हाकिमसमक्ष अनुरोध गरेकी थिइन् । थापाले कार्यालयमा काम नमिले सडकमै पनि बिहान बेलुकाको ड्यूटी मिलाइदिन भनेकी थिइन् ।
उनको अनुरोध लत्याउँदै प्रनि श्रेष्ठले गर्भ बोकेको दुई महिनामै कार्यालयभित्र ड्यूटी गर्ने बेला नभएको बताउँदै सवारीको चाप रहने थापाथलीको सडकमा ड्यटी खटाइदिएको थापाको गुनासो छ ।
बिहीबार बिहान बान्ता भएपछि प्रहरी जवान थापाले ड्यूटी गर्न नसक्ने भन्दा पनि काम लगाएपछि बिरामी अवस्थामै सडकमा खटिएको बताइन् । ‘थापाथली चोकमा ड्यूटी गर्ने क्रममा बिसञ्चो भएर बान्ता गरेपछि प्रसुतीगृह जाने मोडको आरामस्थलमा बसिरहेकी थिएँ’, थापाले अनलाइनखबरसँग भनिन्, ‘आराम गरेकै स्थानमा आएर ड्यूटीको समयमा किन बसिस् भन्दै इन्स्पेक्टर श्रेष्ठले कम्मरमा मुक्काले हान्नुभयो ।’
थापाले आफू ड्यूटीमा जान नसक्ने पहिल्यै बताउँदा पनि जबरजस्ती ड्यूटीमा हालिएको बताइन् । ‘ड्यूटीका बेला पनि असईलाई सोधेर आराम गर्न बसेकी थिएँ’, थापाले भनिन्, ‘यसअघि पनि उहाँले अन्य ट्राफिक महिलामाथि महिनामा दुईचोटिसम्म स्पष्टीकरण सोध्ने र कुटपिट गर्दै आउनुभएको छ, योपटक सहन नसकेपछि मुख खोलेकी हुँ ।’
कुटाइ खाएपछि थापाले कम्मर र हातमा पीडा भएको बताइन् । ‘मुक्काले लागेर हात र कम्मर दुखिरहेको थियो’, उनले भनिन्, ‘औषधि लगाएर मालिस गरेपछि दुख्न छोडेको छ ।’
घटनाबारे थापाले ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी केशव अधिकारी र प्रवक्ता प्रहरी उपरीक्षक वसन्त पन्तलाई जानकारी गराएकी छन् ।
‘कुटाइ खाएपछि डीआइजी सा’प र एसपी सा’पलाई जानकारी गराएकी छु । प्रहरी अस्पतालको सुझावअनुसार सजिलो ड्यूटी मागेकी थिएँ’, थापाले भनिन्, ‘गर्भवती अवस्थामा अरुले पनि यो सुविधा पाउँछन, मैले सडकमा उभिन नसकेरै सजिलो ड्यूटी गर्न खोजेकी हुँ ।’
ट्राफिक प्रहरी महाशाखाका एक प्रहरी अधिकृतले भने थापामाथि कुटपिट नभएको दाबी गरे । थापाले डीआइजी र एसपीलाई घटनाबारे जानकारी गराएको बताए पनि ट्राफिक प्रहरी महाशाखाले भने घटनाबारे अनभिज्ञता प्रकट गरेको छ ।
थापाले डीआइजी केशव अधिकारीलाई जानकारी गराएपछि उनले घटनाबारे बुझ्न डीएसपी सुमन तिमल्सिनालाई खटाएका थिए । आफूमाथि अन्याय भएको भन्दै थापाले नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालको सचिवालयमा समेत उजुरी दिने तयारी गरेकी छन् । ‘मैले गर्भवती अवस्थामा सहुलियत माग्दा कुटाइ खानुपर्‍यो’, थापाले भनिन्, ‘न्यायका लागि आइजीपी सा’पकहाँ आइतबार लिखित निवेदन दर्ता गराउँछु ।’
कुटाइ खाएको बताउने थापा १० महिनाअघि थापाथलीस्थित ट्राफिक प्रभागमा सरुवा भएर आएकी हुन् । ट्राफिक महाशाखाको कम्युटर शाखामा कार्यरत इन्स्पेक्टर श्रेष्ठ भने दुई महिनाअघि थापाथलीस्थित ट्राफिक प्रभाग प्रमुख भएर आएकी हुन् ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger