Latest Updates :

हेलिकप्टर कसरी पर्‍यो दुर्घटनामा.....हेर्नुहोस

SHARE THIS POST :




श्रावण २४, २०७३- उपचारका लागि पाँचदिने शिशु र १९ वर्षीया सुत्केरी प्रीति गुरुङसहित गोरखाको फिलिमका ६ जना यात्रु बोकेर आएको फिस्टेलको हेलिकप्टर काठमाडौं विमानस्थलदेखि १० माइल (१ माइल बराबर १.६ किमि) अर्थात १६ किलोमिटर उत्तरपश्चिमको नुवाकोटे आकाशमा थियो । करिब ४ देखि ६ मिनेटपछि बालाजुपास नाघेर यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसक्थ्यो ।

तर दुर्भाग्य, निजी क्षेत्रको अग्रणीमध्येमै पर्ने फिस्टेल एयरको ५ वर्षअघि इटालीबाट खरिद गरेको सेकेन्ड ह्यान्ड बीटू हेलिकप्टर नुवाकोटको बेतनीस्थित चुच्चेभीरमा ठोक्कियो । ६१ वर्षअघि सुरु नेपाली उड्डयन इतिहासमा यो १०३ औं हवाई दुर्घटनामा यो लेखिन पुगेको छ । नागरिक उड्डयनका अनुसार त्यसमध्ये हालसम्म ९८ वटा आन्तरिक उडानमा रहेका जहाज नै दुर्घटनामा परेका छन्, जसमा सोमबार दुर्घटनामा परेको फिस्टेलको युरोकोप्टर बीटू ३२ औं हेलिकप्टर दुर्घटनाको सूचीमा परेको छ ।

काठमाडौंदेखि ३५ माइल (५६ किलोमिटर) हवाई दूरीमा पर्ने गोरखाको फिलिम पुग्न हेलिकप्टरले २० देखि २५ मिनेट समय लगाउँछन् । सोमबार बिहान क्याप्टेन रञ्जन लिम्बूले नै यो हेलिकप्टरलाई रसुवाको धुन्चे लगेका थिए । फिस्टेलका अर्का हेलिकप्टर पाइलट आशिष शेरचनका अनुसार त्यहाँबाट फर्केपछि लिम्बू साढे १० बजे फिलिमतर्फ उडेका थिए । १२ बजेतिर फिलिमबाट फर्केका उनले उडेको केही बेरपछि काठमाडौं टावरसँगै रहेको एप्रोच टावरलाई काठमाडौंबाट २५ माइल पर छु भनी लोकेसन टिपाएका थिए ।

विमानस्थलका निमित्त महाप्रबन्धक सुधीरकुमार चौधरीका अनुसार त्यसपछि उनले १५ माइल अनि १० माइलबाट आफ्नो अवस्था र उचाइबारे जानकारी गराएका थिए । १० माइलमा पुग्दा १२ बजेर २७ मिनेट गएको थियो । उड्डयन नियमअनुसार, १० माइलपछि हेलिकप्टरले एप्रोच टावरसँग संवाद गरिरहेको भीएचएफ फ्रिक्वेन्सी बदलेर टावरसँग संवाद गर्नुपर्छ । १२ बजेर २७ मिनेटमै १० माइलमा पुगेको हेलिकप्टरले टावरसँग कुराकानी नगरेपछि काठमाडौंको टावरबाट एटीसी तुलसीमाया पौडेलले हेलिकप्टरलाई कल गरेकी थिइन् ।

उनले कल गरेको ५ मिनेटपछि २७ वर्षीय क्याप्टेन रञ्जन लिम्बूले आफू काठमाडौंबाट १० माइलमै भएको र ५ हजार ५ सय फिट उचाइमा रहेको बताएका थिए । क्याप्टेन लिम्बू र एटीसी पौडेलबीच यो संवाद हुँदा १२ बजेर ३२ मिनेट भएको थियो ।

त्यसबेला एटीसी पौडेलले उडान उचाइ ४ हजार ८ सय फिटमा झार्दै बालाजु आसपासमा पर्ने हेलिकप्टरको बाटो मैजुल्यान्ड लेन पछ्याउँदै एक माइल पश्चिममा आएर खबर गर्न भनेकी थिइन् । तर, त्यसपछि टावर र लिम्बूको सम्पर्क हुन सकेन । १२:३२ मा भएको संवाद नै अन्तिम भयो ।

फिस्टेल एयरका सीईओ सुमन पाण्डेका अनुसार क्याप्टेन लिम्बू १० माइल नजिकै आएपछि भारी वर्षा र बाक्लो कुहिरोमा परे । फिस्टेलले आफ्नो कार्यालयमा राखेको जीपीएस सिस्टमबाट हेर्दा उनले काठमाडौं उपत्यकाभित्र छिर्न शिवपुरी र रानीपौवाबाट ट्राई गर्दै फर्किंदै गरेको देखाएको थियो । ‘आठ माइलसम्म भित्र आउँदै फर्किंदै गरेको जीपीएसबाट देखियो,’ सीईओ पाण्डेले भने, ‘त्यही बेला बुद्ध एयरको विमानले ल्यान्ड गरेको छ । यो हेलिकप्टरचाहिँ खराब मौसमको चपेटामा पर्‍यो ।’ हेलिकप्टर ठोकिएको पहाड करिब ६ हजार फिट उचाइमा रहेको छ । 

 विमानस्थलका एक अधिकारीका अनुसार भीएफआर (हेर्दै अघि बढ्ने) प्रणालीमा उड्ने हेलिकप्टरले बादलभित्र छिर्नै मिल्दैन । बादल छल्दै काठमाडौं उपत्यकाभित्र आउनुपर्ने हो । ‘यसले बादलमा नछिरेर कतै फोर्स ल्यान्डिङ गर्न सक्थ्यो, तर बिरामी भएकै कारण जसरी पनि उपत्यकाभित्र आउन खोजेको देखिन्छ,’ ती अधिकारीले भने । अधिकतम २०/२५ हजार फिटसम्म उड्ने क्षमता भए पनि सामान्यता हेलिकप्टर ६ हजार फिट हाराहारीमा भूमि हेरेर उडान गर्छन् । सोमबार दुर्घटनामा परेको बीटू हेलिकप्टर मौसम छल्ने प्रयास गर्दा दुर्घटनामा परेको आंकलन गरिएको छ । मन्त्री नभएको पर्यटन मन्त्रालयले यसबारे दुर्घटना जांच आयोग गठन गरिसकेको छैन ।इ कान्तिपुरबाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger