काठमाडौं, २ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउन रातारात माओवादीसँग सम्झौता गरेका काँग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै अप्ठेरो अबस्था सिर्जना भएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन नहुने दबाब एकातिर छ भने अर्कोतिर काँग्रेस र एमालेको संयुक्त सरकार बनाउनुपर्ने दबाब पनि छ ।
प्रचण्डको सट्टा आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्नेमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, डा. रामशरण महत लगायतका नेता उभिएका छन् । पौडेल समूहमात्रै नभई महाधिवेशनमा देउवालाई साथ दिएका खुमबहादुर खड्का र कृष्ण सिटौला लगायतका नेताहरु पनि माओवादीसँगको गठबन्धन जोखिमपूर्ण हुने भन्दै देउवालाई सचेत गराइराखेको स्रोतले बतायो ।
काँग्रेस युवा नेता सुजाता कोइराला तथा गगन थापा पनि माओवादीसँगको गठबन्धनको पक्षमा छैनन् । उनीहरु बरु ओली सरकारकै निरन्तरताको वकालत गर्दै आएका छन् ।
काँग्रेस वरिष्ठ नेता पौडेलले प्रचण्डको नेतृत्वमा नभइ एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन आइतबार काँग्रेस सभापति देउवालाई भेटेर दबाब नै दिएका छन् । ‘काँग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै प्रचण्डको नेतृत्व किन स्वीकार गरियो ?,’ पौडेलको भनाइ थियो– ‘आफै नेतृत्व गर्नुस्, नत्र प्रचण्डलाई नेतृत्व गर्न नदिनुस् ।’ उनीले सरकार निर्माणका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन समेत माग गरेका छन् । पौडेल समूहले काँग्रेस नेतृत्वमा एमालेसहितको सरकार बनाउनका लागि एमालेका नेताहरुसँग पनि भित्रभित्रै छलफल चलाइरहेको स्रोतले दाबी छ ।
एकातिर नयाँ सरकार गठनका विषयमा संवैधानिक तथा कानुनी प्रश्न उठिरहेको छ भने अर्कोतिर काँग्रेसविरुद्ध प्रचण्डविरोधी वातावरण बढिरहेको हुँदा उनको प्रधानमन्त्री बन्ने सपनामा तुषारापात हुने सम्भावना समेत देखिएको छ । ओली सरकारलाई विस्थापन गर्न सफल भए प्रचण्डलाई जिल्ल बनाउँदै शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको काँग्रेस नेताहरु बताउँछन् ।
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें