Latest Updates :

महिला छालारोग : किन बढ्दै छ अनुहारको समस्या ?....जानिराखौ.

SHARE THIS POST :


    गर्भवती अवस्थाकी महिला, गर्भपतन गराएका महिला, परिवार नियोजनका विभिन्न औषधिको सेवन गर्ने महिलालाई चाया–पोतोको समस्या देखिन सक्छ । त्यस्तै, महिनावारी गडबडी तथा पाठेघरमा समस्या र कतिपय बेला हर्मोनका कारण पनि यस्तो अवस्था आउन सक्छ । हर्मोनको प्रयोग र शरीरभित्रका कमजोरीले पनि चाया–पोतो आउने गरेको अध्ययनले बताएको छ ।

डा. ललन खतिवडा, छालारोग विशेषज्ञ हुन् । झन्डै एक दशकदेखि छाला रोगको उपचार गरिरहेका छन् । उनी नेपाल स्किन हस्पिटलमा कार्यरत छन् । उनी भन्छन्, ‘आजभोलि टीभीमा देखाइएका विज्ञापन र साथीभाइको सल्लाहकै भरमा जथाभावी क्रिम प्रयोग गर्ने चलन नै हो छाला बिग्रने कारण ।’ डा. खतिवडासँग बढ्दो छालारोग र त्यसको सफल उपचारबारे मिडियाएनपी फातिमा बानुले गरेको कुराकानीको सम्पादित अंश :


छालारोग किन बढ्दै छ ?


पहिले आममानिसहरु छालाको समस्यालाई त्यति गम्भीर रूपमा लिँदैनथे । हिजोआज छालालाई सौन्दर्यसँग जोडर हेर्ने गरिन्छ । खासगरी महिलामा छालारोग बढ्दो पाइन्छ । एकातिर महिलाहरुले अनुहारलाई सुन्दर बनाउन विभिन्न शृंगार गर्छन् भने अनुहारमा केही समस्या देखिए मनपरी पनि उपचार गर्छन् । यसले छालारोगलाई बढाएको पाइन्छ ।

महिलाहरु अनुहारमा चाया–पोतो र डन्डिफोरको समस्याले पीडित छन् । यस्तो समस्या भोगिरहेका महिला उपचारका लागि घरेलु जडीबुटीदेखि अनेकौँ बजारिया क्रिम र औषधिको पछाडि दौडेको पाइन्छ । टीभीमा देखाइएका विज्ञापन र साथीभाइको सल्लाहकै भरमा पनि क्रिम प्रयोग गर्ने गरेका छन् । चिकित्सकको परामर्शबिना नै जथाभावी औषधि र क्रिम प्रयोग गर्नेहरूको जमात पनि छ । त्यसरी प्रयोग हुने कतिपय क्रिमले छाला राम्रो बनाउनुको साटो उल्टै छालामा असर गर्न सक्छन् । यिनै कारणले छालारोगीको संख्या बढ्दो देखिन्छ ।

घाम एक कारण


धेरैजसो छाला समस्या घामका कारण उत्पन्न हुने गर्छ । त्यस्तै, चाया–पोतो पनि घामका कारण नै आउने हो । घाम लाग्दा आउने अल्ट्राभाइलट किरणले छालाको रङ तयार गर्ने तत्व ‘मेलानिल’लाई पूरै क्रियाशील बनाउँछ । आवश्यकभन्दा बढी मेलानिल उत्पादन भएपछि अनुहारमा चाया–पोतो देखिन थाल्छ । निधार र गालामा मेलानिल तत्व बढी मात्रामा हुने र घामको स्पर्शले क्रियाशील हुने भएकाले अनुहारमा बढी चाया–पोतो आउने गर्दछ । त्यसैले ती स्थानमा छिटो प्रभाव देखिन्छ । पुरुषलाई पनि अनुहारमा चाया आउने गर्छ, घामकै कारणले ।

महिलाका समस्या


महिलाको हकमा घामसँगै अन्य कारण पनि हुन सक्छन् । जस्तै, गर्भवती अवस्थाकी महिला, गर्भपतन गराएका महिला, परिवार नियोजनका विभिन्न औषधिको सेवन गर्ने महिलालाई चाया–पोतोको समस्या देखिन सक्छ । त्यस्तै, महिनावारी गडबडी तथा पाठेघरमा समस्या र कतिपय बेला हर्मोनका कारण पनि यस्तो अवस्था आउन सक्छ । हर्मोनको प्रयोग र शरीरभित्रका कमजोरीले पनि चाया–पोतो आउने गरेको अध्ययनले बताएको छ । चाया–पोतो आउने निश्चित उमेर भन्ने हुँदैन । साधारणतया १४ देखि ४५ वर्ष उमेरसम्मका महिनावारी हुने महिलामा हो, चाया–पोतो तथा डन्डिफोर आउने । कारण पत्ता लगाएर उपचार गरेमा चाया–पोतोलाई रोक्न सकिन्छ । स्त्रीरोग तथा छालारोग विशषेज्ञलाई देखाई उचित उपचार गर्नुपर्छ । कतिपय अवस्थामा औषधि प्रयोग, केमिकल र लेजर प्रविधिबाट चायालाई हटाउन सकिन्छ ।

प्रकार र असर


छालाका सबै समस्या एकै हुँदैनन् । कस्मेटिक र छालासम्बन्धी रोग गरी जम्मा दुई प्रकारका हुन्छन् । कस्मेटिक समस्या हेर्दा मात्र नराम्रो देखिन्छ तर सौन्दर्यलाई बिगार्दैन । जस्तै, डन्डिफोर, कालोपोतो र चाउरीपन । यस्ता समस्याले शरीरलाई कुनै प्रकारको हानि या अप्ठेरो बनाएको हुँदैन । तर, छालासम्बन्धी रोगले भने सौन्दर्य र शरीर दुवैलाई हानि पुर्याएको हुन्छ । छालारोगी सोध्छन्, ‘हाम्रा हजुरआमाका पालामा पनि घाम त लागेकै थियो । उहाँहरूको छालामा समस्या देखिएन । हाम्रो छाला मात्र घामले किन बिगारेको ?’ हुन पनि हो, हाम्रा अग्रजभन्दा नयाँ पुस्तामा छाला समस्या बढी देखिएको छ । जलवायु परिवर्तन, आधुनिक रहन–सहन, खानपिन र तनाव यसका कारण हुन् । घामले मात्र त समस्या ल्याउने होइन, तर समस्यालाई घामले बढाउँछ ।

के गर्ने त ?

घामका किरणले चाया–पोतो आउने भएपछि घामको विकीरणबाट छालालाई सकेसम्म जोगाउनुपर्छ । यसका लागि अनुहार छोप्नु, घाम छेक्ने चस्मा, टोपी, तथा रुमालको प्रयोग गर्नुपर्छ । त्यस्तै, कडा घाममा ननिस्कने । कमसेकम २० एसपीएफको सनब्लक क्रिम लगाउनुपर्छ, राम्रो कम्पनीको । जाडोमा दैनिक दुई र गर्मीमा दैनिक तीनपटकसम्म सनब्लक लगाएर बाहिर हिँड्दा छाला बिग्रनबाट जोगिन्छ । सनब्लक भन्दैमा जथाभावी बजारिया क्रिम प्रयोग गर्नु हुँदैन । आफ्नो छाला कस्तो खालको हो, छाला विशेषज्ञसँग जाँच गराएर आफ्नो छालालाई मिल्ने क्रिम लगाउनुपर्छ । नत्र छालामा विभिन्न खालका समस्या देखापरी सधैंका लागि छाला बिग्रन सक्छ । घामको प्रत्यक्ष विकीरणबाट बँच्न घाममा हिँड्दा मास्क, छाता, क्याप लगाएर हिँड्नुपर्छ । क्रिम लगाएर र घामबाट बचेर मात्र छाला राम्रो हुँदैन ।

त्यस्तै, हाम्रो जीवनशैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ । खानपिन र रहन–सहनमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । खानेकुरामा साइट्रिक एसिड भएका मौसमी फलफूल र हरिया तरकारी बढी खानुपर्छ । नुनिलो, चिल्लो खानेकुरा बढी खानुहुँदैन । जंकफुडबाट सकेसम्म टाढै बस्नुपर्छ । यसले छालालाई मात्रै नभएर सम्पूर्ण स्वास्थ्य खराब गर्छ ।

जीवन तनावरहित हुनुपर्छ । कतिपय छाला समस्या घाम मात्र नभएर शरीरका हर्मोनको गडबडीले पनि हुने गर्छन् । औषधि प्रयोग, केमिकल र लेजर प्रविधिबाट पनि चायालाई हटाउन सकिन्छ । छालाको बाहिरी पत्रमा हुने चाया–पोतो सजिलै औषधिबाट निको हुन्छ, तर छालाको तल्लो पत्रमा हुने चाया औषधिबाट निको हुन समय लाग्छ । कतिपय अवस्थामा यस्तो समस्या समाधानका लागि लेजर प्रविधि अपनाउनु राम्रो मानिन्छ । हर्मोनियल उपचार गरेर पनि यस्ता समस्या ठीक हुन्छन् । सबै मानिसको शरीरमा एकै प्रकारका हर्मोन हुँदैनन् । हर्मोनका कारण देखिने छाला समस्या बाहिरी उपचारले मात्रै ठीक हुँदैनन् ।

आजभोलिका बिरामी उपचारमा हिजोको आजै परिणाम खोज्छन् । तर, रोग निको हुन डाक्टरको पहलले मात्रै हुँदैन । बिरामीले पनि उत्तिकै धैर्य गरेर सहकार्य गर्न सक्नुपर्छ ।  मेरो अनुभवमा धैर्य गर्ने बिरामीको रोग निको भएको छ । धैर्य गर्न नसक्नेले चाहिँ डाक्टरलाई मात्रै दोष दिन्छन् । आधा रोग त आत्मविश्वास र धैर्यले निको हुने हो ।मिडिया एनपबाट साभार 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger