काठमाडौं / पूर्वडिएसपी जगदीश चन्द २०७२ असारमा उनकै घरबाट समातिए । उनलाई प्रहरीले सञ्चार उद्यमी जमिम शाहको हत्या योजनामा संलग्न भन्दै रेडकर्नर नोटिस जारी गरेको थियो । अहिले उनि जेलमा छन् ।त्यस्तै २०७१ माघ १६ गते खुङखार गैंडा सिकारी राजकुमार प्रजा मलेसियामा पक्राउ परे । उनलाई २० वटा गैंडा मारेको आरोपमा इन्टरपोलको रेडकर्नर नोटिसमा राखिएको थियो । चन्द र प्रजा त केही उदाहारण मात्र हुन् ।
यस्ता थुप्रै अभियुक्तहरु रेडकर्नर नोटिसबाट पक्राउ परिसकेका छन् । अहिले पनि नेपाल प्रहरीको इन्टरपोल शाखाले मात्र १३ जनालाई रेडकर्नर नोटिस जारी गरेको छ । त्यसो त नेपालीहरू स्वदेशमा मात्र होइन, विदेशमा समेत अपराध गरी अन्तर्राष्ट्रिय कुख्यातीको सूचीमा रहेको देखिएको छ । इन्टरपोलको वेभसाइटमा रहेको तथ्याङ्क अनुसार मुलुकभर ४४ नेपाली रेडकर्नर नोटिसमा छन् । चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी शिकारी, बलात्कार जस्ता गम्भीर अपराधमा मुछिएको भन्दै उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी भएको हो ।
कुन देशको इन्टरपोलले कति नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ ?
भारतीय इन्टरपोलले – २८ जना
नेपालको इन्टरपोलले – १३ जना
अमेरिकाको इन्टरपोलले – ३ जना
नोटिस जारी भएपछि ती मुलुकको प्रहरीले अपराधीलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउनुपर्छ । प्रहरीका पूर्वएआइजी नवराज ढकाल भन्छन् – ‘विदेशी नागरिक त्यो देशमा अपराध गरेर नेपाल आएको अवस्थामा फर्काउन सकिन्छ । तर, अन्य देशमा अपराध गरेका नेपाली नेपालमा फेला परेपनि पक्राउ गरेर पठाउन भने मिल्दैन ।’ सुपुर्दगी कानुन नभएका कारण नेपाली नागरिकलाई पक्राउ गरेर दोस्रो मुलुक पठाउन नमिल्ने सुरक्षाविद् डा. दिपक प्रकाश भट्ट बताउछन् ।
नेपालमा सुपुर्दगी कानुन छैन, नेपाली नागरिकलाई दोस्रो मुलुकमा पठाउन मिल्दैन । तर, त्यो देशमा नेपालीले गरेको अपराधबमोजिम यहाँ पक्राउ गरेर सजाय दिन सकिन्छ । नेपालले कुनै विदेशीले उसको मुलुकमा अपराध गरेर नेपालमा बसेको पाए उसलाई त्यही देशमा पठाइदिने गरेको छ ।
के हो रेड कर्नर नोटिस ?
सूचना र प्रविधिको विकाससँगै अपराध पनि अन्तर्राष्ट्रियस्तरमा झाँगिदै गयो । यसरी बढेको अपराधको भौगोलीकरणसँगै समन्वय र सहकार्यका लागि इन्टरपोल गठन भएको हो । मुख्य गरी विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो ।
सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको सयौं सदस्य हो । इन्टरपोलमा हालसम्म एक सय ९० देश सदस्य छन् । इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्न अनुरोध गर्छ ।
सोही अनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भएपनि पक्राउ गरी कानुनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् । सोही अनुरूप खोजी कार्य हुन्छ ।
कस्ता व्यक्तिलाई कस्ता नोटिस जारी ?
फरार अभियुक्त खोज्न – रेडकर्नर नोटिस
डिफ्युजन- अपराधीबारे जानकारी दिन
ब्लु नोटिस –अपराधीको कार्यशैली जानकारी दिन
ग्रिन नोटिस –सनाखत हुन नसकेको शवबारे जानकारी दिन
ब्ल्याक नोटिस –हतियारबारे जानकारी दिन
ओरेन्ज नोटिस –हराएका व्यक्तिको खोजी गर्न
पहिले रेडकर्नर नोटिस, अहिले उपराष्ट्रपति
अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि पहिले रेडकर्नर नोटिसमा परेका थिए । इन्टरपोलको वेभसाइटमा उनको पुनको नाम पासाङ भनेर उल्लेख गरिएको छ । उनलाई सन् २००३ मा राज्यविरुद्धको अपराध, हत्या आतंक आदिमा संलग्न रहेको भन्दै रेड कर्नर नोटीस जारी गरिएको थियो । उनीसँगै पुष्पकमल दाहाल प्रचण्ड, मोहन बैद्य किरण, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल, सिपी गजुरेल लगाएत १४ जनाको नाम रेर्डकर्नर नोटिसमा थियो । तर, अहिले भने सूचीमा माओवादीका कुनै पनि नेताको नाम छैन । – लाेकान्तरबाट



एक टिप्पणी भेजें